काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका छन् ।
नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, बलराम बास्कोटा लगायतका नेताहरूले अध्यक्ष नेपाललाई पत्र बुझाएका हुन् ।
“कम्युनिस्ट पार्टीमा नेतृत्व निर्माण निश्चित विधि–पद्धति, मूल्यांकन र योजनाका आधारमा गरिन्छ, गरिनुपर्दछ । नेतृत्व चयन एक ज्यादै गम्भीर प्रक्रिया हो । यस्तो विषयमा जेसुकै होस् भन्ने हिसाबले काम गर्दा ठिक परिणाम निस्कँदैन । अहिले त्यही भएको छ,” पत्रमा भनिएको छ ।
१०औँ महाधिवेशनको समग्र प्रक्रियामा विधि–पद्धतिको गम्भीर उल्लंघन भएको दाबी नेताहरूको छ । “केन्द्रीय परिषद्को बैठक र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट समेत पारित विधानको भावनाविपरीत मनपरी गरिएको छ,” पत्रमा भनिएको छ, “यसले गर्दा स्थानीय कार्यकर्ताहरूले पार्टी छोडिरहेका र केहीले योजनाबद्ध रूपमा पार्टी विभाजनको प्रयास गरिरहेका छन् । पार्टीको आन्तरिक एकतामा खलल हुने कुनै काम नहोस् भनेर सतर्क हुनुपर्छ ।”
महाधिवेशनको म्यान्डेटविपरीत गरिएका सबै काम कारबाही खारेजको माग पनि गरेका छन् । महाधिवेशनको गम्भीर समीक्षा गरी आन्तरिक एकताको पहल गर्न नेताहरूले आग्रह गरेका छन् ।