काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त पदकाे उपनिर्वाचनका उमेदवारका लागि खर्चकाे हद ताेकेकाे छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै खर्चको हद तोकिएको जानकारी दिए ।
जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख पचास हजार, पमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख पचास हजार रुपैयाँ खर्च गर्न पाउनेछन् ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख पचास हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।
महानगरपालिकाका वडा अध्यक्षका उम्मेदवारलाई तीन लाख, उपमहानगरपालिकाका वडा अध्यक्ष उम्मेदवारलाई दुई लाख पचास हजार खर्च हद ताेकिएकाे छ ।
नगरपालिकाका वडा अध्यक्षका उम्मेदवारले दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्नसक्ने गरी हद तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि मंसिर २ गते उमेदवारी दर्ता हुने छ ।