काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हुन लागेकाे हाे । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे छ ।
नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।
यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।