काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्नका लागि सिफारिस समिति गठन गरेको छ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वमा समिति गठन गरेको हो ।
मन्त्रिपरिषद् बैठकले यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गठन गरेको मिश्र नेतृत्वको सिफारिस समितिलाई नै निरन्तरता दिएकाे हाे ।
सिफारिस समितिको सदस्यमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य एकजना, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की, स्टेला तामाङ र वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।
प्रचण्ड नेतृत्वको सरकारले २०८० चैत ३० मा पूर्वन्यायाधीश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।