सिन्धुपाल्चोक । चार हजार मिटर बढी उचाइमा महिला ट्रेल रेस सम्पन्न भएको छ । विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा ‘पाँच पोखरी विमन ट्रेल रेस २०८१’ सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा २ घण्टा २८ मिनेटमा रेस पूरा गरेर खोटाङकी निर्मला राई प्रथम भइन् । उनले ५० हजार पुरस्कार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
यसैगरी २ घण्टा ४९ मिनेटमा रेस पूरा गरी नेपाल पुलिस क्लबमा कार्यरत लक्पा निग्मा शेर्पा दोस्रो भइन् । नगद २५ हजार पुरस्कार, कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गरिन् ।
हेलम्बुकी नितु तामाङले २ घण्टा ५८ मिनेटमा रेस पूरा गरेर तेस्रो स्थान हासिल गर्दै १५ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र पाइन तीन घण्टा ११ मिनेटमा रेस पूरा गरी सिन्धुपाल्चोककै अस्मिता भुजेलले चौथो पुरस्कारका रुपमा नगद १० हजार , मेडल र प्रमाणपत्र पाइन् । तीन घण्टा १८ मिनेटमा रेस पूरा गरेर रोल्पाकी आस्मा विक पाँचौ हुँदै पाँच हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
रेस जित्ने तथा सहभागी महिला धावकलाई उपसभामुख इन्दिरा रानाले कपसहित पुरस्कार तथा मायाको चिनो र प्रमाणपत्र वितरण गरेकी हुन् ।