काठमाडौं । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ नवलपुरका माधव कुँइकेललाई गरिब जनतालाई निःशुल्कः ऐम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्छ भन्ने हुटहुटी जाग्यो ।
रकम अभावमा बिरामी अस्पताल पुग्न नपाउने अवस्थाको अन्त्य गर्न आफैंले केही काम गर्नुपर्छ भन्ने भाव पैदा भयो । सोही हुटहुटीले उनलाई नेपाल साइकल यात्रीको परिचय दिएको छ ।
२०७७ कार्तिक महिनाबाट साइकल यात्रा सुरु गरे । सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौंसम्मको यात्रा गर्दा कोभिड–१९ को संक्रमणका कारण सरकारले लकडाउन घोषणा गर्यो । सोही कारण उनको यात्रा स्थगन भयो ।
उनले स्थगित भएको यात्रलाई ०८० फागुनबाट निरन्तरता दिए । रसुवाबाट यात्रा सुरु गरेको यात्रा १२७ दिनमा दोलखा आएर समापन गरेका छन् । “प्रत्येक जिल्लाको प्रशासन र प्रहरी प्रशासन कार्यलयमा गएँ । त्यहाँ गएर मैले यो देशको गरिब जनाले निःशुल्क एम्बुलेन्स चड्न पाउनुपर्छ भन्ने माग राखेर यात्रा गरेको हुँ,” उनी सुनाउँछन्, “राज्यबाट सम्भव छैन भने मेरो अभियानलाई एक रुपैंया दिनुस् भनि भनेँ ।”
कुइँकेलले एक जना व्यक्तिलाई दिनको एक रुपैयाँका दरले सय दिनको रकम दान गर्न आग्रह गरे । अर्थात १ जनासँग सय रुपैंँया दान मागेका छन् । हालसम्म २१ हजार मानिससँग भेटेका कुइँकेलले १ लाख मानिससँग भेट्ने योजना बनाएका छन् । त्यो रकमले एम्बुलेन्स चढ्न असहज भएकालाई प्रदान गर्ने कुँइकेलको योजना छ ।