काठमाडौं । भुमेश्वरी माद्यामिक विद्यालय पूर्व विद्यार्थी समाजको विशेष भेला तथा सांस्कृति कार्यक्रम सम्पन्न भएको छ । स्वर्ण जयन्तीको पूर्व सन्ध्यामा शनिबार काठमाडौंमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका पूर्व शिक्षक, व्यवस्थापन समितका पदाधिकारी, पूर्व विद्यार्थी लगायतको सहभागिता थियो । २०३२ सालमा स्थापना भएको सिन्धुपाल्चोककै अग्रणी श्री भुमेश्वरी माविले यहि पौष १७ गते आफ्नो स्वर्ण जयन्ती मनाउँदैछ । कार्यक्रमको तयारीस्वरुप काठमाडौंमा रहेका पूर्वविद्यार्थीलाई लक्षित गरिएको भेलामा पूर्व शिक्षकहरु गौरीनाथ प्रधान, ईश्वर दाहाल, घनश्याम झा, कुमार त्रिपाठी, तिलचरण गुरागाईं, रामहरि भण्डारी, विद्यालय व्यवस्थपन समितिका पूर्व अध्यक्ष त्रिलोचन भण्डारी, गंगानाथ भण्डारी सहभागी थिए ।
कार्यक्रममा पूर्व शिक्षकहरुले विगत स्मरण गर्दै यस्ता कार्यक्रमहरुको आवश्यकता औंल्याए । लोक तथा दोहोरी गायक भिमसेन खतिवडाले सांस्कृतिक प्रस्तुती दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक यमबहादुर जोतीले स्वर्ण जयन्तीको विशेष कार्यक्रममा पूर्वविद्यार्थी समाजको विशेष उपस्थितिको अपेक्षा गरिएको बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोदनाथ भण्डारीले पूर्वविद्यार्थीबीच सहयोग आदानप्रदानका लागि पूर्व विद्यार्थी समाज कोशेढुंगा सावित हुने बताए ।
उक्त कार्यक्रमका सभापति तथा पूर्व विद्यार्थी समाजका अध्यक्ष गणेशप्रसाद गुरागाईंले संस्था दर्ता गरी विधिवत रुपमा अघि बढ्ने योजना रहेको बताए ।